जनकपुरधाम – नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै प्रदेशस्तरीय निर्वाचन अनुगमन समितिको संयोजकको जिम्मेवारी वृहस्पति कृष्ण श्रेष्ठलाई प्रदान गरेको छ।
मधेस प्रदेश कार्यसमितिको कार्यालय जनकपुरधामबाट जारी पत्रअनुसार आसन्न निर्वाचनलाई निष्पक्ष, मर्यादित र प्रभावकारी रूपमा सम्पन्न गर्न अनुगमन कार्यलाई सशक्त बनाउने उद्देश्यले श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको हो।
पत्रमा निर्वाचन अभियानका क्रममा पार्टीका आधिकारिक उम्मेदवारहरूको गतिविधि अनुगमन गर्ने, निर्वाचन आचारसंहिता पालना गराउने तथा समग्र निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन समितिले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ।
नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले नवनियुक्त संयोजक श्रेष्ठलाई प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ।