नेपाली कांग्रेसको दोस्रो ऐतिहासिक विशेष महाधिवेशन पुस २७–२८ मा काठमाडौंमा हुने

tejnewskhabar.com

काठमाडौं, पुस २५ — नेपाली कांग्रेसले आफ्नो दोस्रो ऐतिहासिक विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार लोकतन्त्रको रक्षा, संवैधानिक स्पष्टता र समसामयिक राजनीतिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले विशेष महाधिवेशन आह्वान गरिएको हो।

विज्ञप्तिमा विभिन्न कालखण्डमा उत्पन्न जटिल राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ। २०८२ भदौ २३ र २४ को जनआन्दोलनपछिको अवस्थामा देशमा देखिएको संवैधानिक शून्यता अन्त्य गर्दै लोकतन्त्रलाई सबल बनाउन पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता र आन्तरिक लोकतान्त्रिक व्यवस्थापनलाई थप सुदृढ गर्नु आवश्यक रहेको जनाइएको छ।

पार्टी विधानको धारा ७५(२) बमोजिम ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको विधिवत मागअनुसार विशेष महाधिवेशन आयोजना गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ। महाधिवेशनमा पार्टीको भावी दिशा, नीति र ऐतिहासिक निर्णयहरू हुने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेसले देशभरका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि आह्वान गर्दै राजधानी काठमाडौंमा हार्दिक स्वागत गरेको छ। पार्टी सभापति कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन ऐतिहासिक निर्णयसहित भव्य र सफल हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया