रास्वपा र बालेनबीच बृहत् एकता सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालन्द्र शाह

tejnewskhabar.com


काठमाडौं, पुष १३ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालन्द्र शाह (बालेन) बीच बृहत् राजनीतिक एकता सम्बन्धी सहमति भएको छ। लोकतन्त्र, सुशासन, सामाजिक न्याय र भ्रष्टाचारविरुद्ध साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धतासहित दुवै पक्षबीच उक्त सहमति भएको हो।

सहमति अनुसार भ्रष्टाचार र कुशासनविरुद्ध भएका आन्दोलनमा सहिद तथा घाइतेहरूको योगदानको सम्मान गर्दै पीडित परिवारका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखी आर्थिक–सामाजिक रूपान्तरणमार्फत नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ।

बृहत् एकतापछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। पार्टीको झण्डा निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी, चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौं उपत्यका रहने सहमतिमा उल्लेख छ।

सहमति अनुसार पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आगामी निर्वाचनपछि बन्ने संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालन्द्र शाह हुने उल्लेख गरिएको छ।

पार्टी संगठनलाई थप समावेशी, सशक्त र फराकिलो बनाइने, जिम्मेवारी वितरण गर्दा योग्यता, क्षमता र सार्वजनिक छविलाई आधार मानिने सहमति भएको छ। यस सहमतिअनुसार आवश्यक कागजातहरू निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता गरिने जनाइएको छ।

साथै, घण्टी चुनाव चिन्हसहित लोकतान्त्रिक सुशासन र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य परिवर्तनकारी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि एकताका लागि आह्वान गरिएको छ।

उक्त सहमतिमा रवि लामिछाने र बालन्द्र शाहको हस्ताक्षर रहेको छ।
स्थान: काठमाडौं
मिति: पुष १३, २०८२

प्रतिक्रिया