मस्जिद तोडफोड र कुरान जलाउने घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

tejnewskhabar.com

रौतहट, २१ पुस । धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा तोडफोड तथा पवित्र कुरान जलाइएको घटनामा संलग्न दोषीहरूलाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै नेपाल मुस्लिम शान्ति समाज रौतहटले प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

नेपाल मुस्लिम शान्ति समाज रौतहटको ब्यानरमा मुस्लिम अगुवा अनवर हासमीको अगुवाइमा निस्किएका मुस्लिम समुदायका युवा तथा धर्मगुरुहरूले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय गौर पुगेर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।

६ बुँदे मागसहित बुझाइएको ज्ञापनपत्रमा घटनामा संलग्न दोषीको तत्काल पहिचान गरी पक्राउ गरेर सार्वजनिक गर्न, दोषीलाई कडा भन्दा कडा कारबाही गर्न, तोडफोड तथा लुटपाटको क्षतिपूर्ति दिलाउन, धार्मिक स्थलहरूको सुरक्षा सुनिश्चित गर्न, मुस्लिम समुदायमाथि पटक–पटक हुने आक्रमण, अन्याय र अत्याचार रोक्न तथा सामाजिक सद्भाव कायम गर्दै कानुन सबैका लागि समान रूपमा लागू गर्न माग गरिएको छ।

ज्ञापनपत्र बुझाएपछि प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी भुसालले समाजमा सबै धर्म र वर्गका नागरिकबीच समान व्यवहार र सद्भाव कायम राख्न अपिल गरे। उनले कसैको धर्ममाथि आघात पुर्‍याउने जो–कोहीलाई कानुन अनुसार कडा कारबाही गरिने स्पष्ट पारे। धार्मिक सद्भावमा खलल पुर्‍याउने कार्यमा संलग्न नहुन चेतावनी दिँदै त्यस्तो कार्य भए कारबाहीको भागीदार बन्नुपर्ने बताए।

यसअघि मुस्लिम समुदायले यमुनामाई गाउँपालिकाको मलहेनिया चोक र सरुअठा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए। साथै गौर नगरपालिका–५ स्थित जामिया मस्जिदमा उल्लेख्य संख्यामा भेला भई घण्टाघर चोकमा टायर बाल्दै चर्को नाराबाजीसमेत गरेका थिए।

ज्ञापनपत्र बुझाएपछि जिल्ला प्रशासन कार्यालय गौर अगाडि मुस्लिम अगुवा महम्मद शाहिदले अमन–चैन कायम रहोस् भनी प्रार्थना गरेपछि आजको ज्ञापनपत्र तथा र्‍याली कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया