नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह सुशोभन तथा नियुक्तिपत्र वितरण

tejnewskhabar.com

काठमाडौँ, ०८ पुस — प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह सुशोभन तथा नियुक्तिपत्र हस्तान्तरण गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा खुला प्रतियोगितामार्फत प्राविधिक प्रहरी समूहतर्फ प्राविधिक प्रहरी निरीक्षक पदमा नवनियुक्तमध्ये विभागीयतर्फका ७ जना प्राविधिक प्रहरी निरीक्षकहरूलाई प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो।

नेपाल प्रहरीको प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक पदहरूमा समावेशी प्रावधानबमोजिम पदपूर्तिका लागि २०८१ चैत १५ गते प्रकाशित विज्ञापनअनुसार विभिन्न मितिमा प्रकाशित अन्तिम नतिजाबाट विभागीयतर्फ ७ जना र खुलातर्फ २७ जना गरी कुल ३४ जना उम्मेदवार उत्तीर्ण भएका थिए। नेपाल सरकार, गृह मन्त्रालयको सचिवस्तरीय २०८२ पुस ६ गतेको निर्णयअनुसार पुस ७ गतेदेखि लागू हुने गरी उनीहरूलाई प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त गरिएको हो।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले खुलातर्फ नवनियुक्त २७ जना मध्ये कार्यक्रममा उपस्थित २२ जना प्राविधिक प्रहरी निरीक्षकहरूलाई नियुक्तिपत्रसमेत प्रदान गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले खुला प्रतियोगिताबाट नेपाल प्रहरीको प्राविधिक समूहतर्फ प्रहरी निरीक्षक पदमा नियुक्ति लिनुभएका तथा प्रहरी सेवाका विभिन्न पदमा कार्यरत रहँदै आजै प्राविधिक प्रहरी निरीक्षक पदको दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएका सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। नागरिक सेवामा समर्पित हुने उद्देश्यसहित प्रहरी सेवा रोज्नुभएकोमा धन्यवाद व्यक्त गर्दै उहाँले निरन्तर व्यावसायिक उन्नयनको शुभेच्छा समेत प्रकट गर्नुभयो।

प्रहरी महानिरीक्षक कार्कीले शान्ति सुरक्षा कायम राख्ने तथा अन्य विविध जिम्मेवारी निर्वाहमा प्राविधिक सेवाको महत्व बढ्दै गएको उल्लेख गर्दै नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरूले संगठनको नीति, नियम र परिधिभित्र रही उत्कृष्टताका साथ सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, संगठनको समग्र सुदृढीकरणका लागि उच्च व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादन प्रदर्शन गर्न सबै प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो।

आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति अवलम्बन गर्दै योजनाबद्ध ढंगले कार्यसम्पादन गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया