जनकपुरधाम १६ गते । मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै प्रदेश सरकारलाई पूर्णता दिएको हो।
प्रदेश प्रमुख सुरेन्द्र लाल कर्णले मुख्यमन्त्री यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मिति २०८२/०९/१६ गते मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन स्वीकृत गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
विस्तारित मन्त्रिपरिषद् अनुसार मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी सम्हाल्नुभएको छ। महेश प्रसाद यादव अर्थ मन्त्रालय, जंगी लाल राय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जवाहर लाल कुशवाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्रालय, कनिष पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारीमा रहनुभएको छ।
त्यस्तै, मनिष कुमार सुमन श्रम तथा यातायात मन्त्रालय, राज कुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्रालय, शंकर प्रसाद चौधरी वन तथा वातावरण मन्त्रालय, श्याम प्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बसन्त कुमार कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतो गृह, सञ्चार तथा कानून मन्त्रालयको जिम्मेवारीमा नियुक्त हुनुभएको छ।
प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। तेस्रो पटकको मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकार पूर्ण रूपमा सञ्चालनमा आएको प्रदेश सरकारले जनाएको छ।