हेटौँडा, १९ पुस । बागमती प्रदेशका माननीय मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पदभार ग्रहण गरेसँगै प्रदेश सरकारको खर्च कटौती, आर्थिक मितव्ययिता र पारदर्शितालाई उच्च प्राथमिकता दिँदै आएका छन्। मुख्यमन्त्री बनेपछि उनले आफ्नै सचिवालयबाट हुने खर्च कटौती गरेका छन् भने सरकारी सवारी साधन प्रयोग नगरी निजी खर्चमै यात्रा गर्ने अभ्यास थालेका छन्।
मुख्यमन्त्रीको सचिवालयले हालसम्म भ्रमण भत्ता समेत नलिने निर्णय गरेको जनाएको छ। साथै, सुविधावापत प्राप्त हुने रकमबाट विपन्न परिवारको घर निर्माण गर्ने घोषणा अनुसार मकवानपुरको मनहरी र कैलाश गाउँपालिकामा दुई विपन्न परिवारका घर निर्माण गरी हस्तान्तरणसमेत भइसकेको छ भने राक्सिराङ गाउँपालिकामा अर्को घर निर्माणको कार्य जारी रहेको सचिवालयले स्पष्ट पारेको छ।
यद्यपि मुख्यमन्त्रीद्वारा गरिएका सकारात्मक कार्यहरूलाई ओझेलमा पार्ने गरी सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममार्फत भ्रमपूर्ण र नकारात्मक सन्देश प्रवाह गरिएकोप्रति सचिवालयले आपत्ति जनाएको छ। कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीले हेलिकप्टर प्रयोग गरेको भन्ने आरोप पूर्णतः भ्रामक भएको सचिवालयको भनाइ छ।
साथै, एक निजी विद्यालयको मेलामा सहभागी हुन र सिरहामा पार्टीद्वारा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्रीले निजी खर्चमै यात्रा गरेको स्पष्ट पारिएको छ। उक्त कार्यक्रममा बागमती प्रदेशका पार्टी सभापति समेत सहभागी रहेका कारण सडक मार्गबाट जान असम्भव भएको व्यावहारिक कारण पनि सचिवालयले उल्लेख गरेको छ।
प्रेस विज्ञप्तिमा मुख्यमन्त्रीले आफ्नो यात्राका क्रममा कुनै पनि सरकारी कोषको दुरुपयोग नभएको स्पष्ट गर्दै, सामाजिक सञ्जालमा फैलाइने गलत र भ्रामक सामग्रीप्रति सजग रहन सबैमा आग्रह गरिएको छ। साथै, सञ्चार माध्यमहरूलाई पनि सत्यतथ्य जाँच गरेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ।
अन्त्यमा, मुख्यमन्त्रीको सचिवालयले सकारात्मक सुझाव र शुभेच्छा व्यक्त गर्ने सबै शुभचिन्तकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।