रौतहट १२ गते पुस : सरकारले करदाता सेवा कार्यालय हटाउने निर्णय गरेपछि त्यसको विरोधमा रौतहट उद्योग वाणिज्य संघले आजदेखि धर्ना कार्यक्रम सुरु गरेको छ। संघले गौरस्थित करदाता सेवा कार्यालयको मूल गेटमै धर्ना दिँदै निर्णयप्रति असन्तुष्टि जनाएको हो।
संघका अनुसार करदाता सेवा कार्यालय हटाइएमा जिल्लाका उद्योगी, व्यवसायी तथा सर्वसाधारण करदाताहरू गम्भीर समस्यामा पर्नेछन्। सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताले समय, खर्च र झन्झट बढ्ने भन्दै संघले सरकारी निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
संघले करदाता सेवा कार्यालय जिल्लाको आर्थिक गतिविधिका लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै, माग सम्बोधन नभए आन्दोलनलाई थप कडा बनाउने चेतावनीसमेत दिएको छ।
१३ पुस २०८२, आईतबार ११:४६ मा प्रकाशित